बङ्गलादेशको सरकार विरोधी आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता बने सरकारका मन्त्री

बङ्गलादेश सरकार  र प्रधानमन्त्री  शेख हसिनाविरुद्ध आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता बंगलादेशको नवगठित अन्तरिम सरकारमा मन्त्री बनेका छन् ।

हसिनालाई सत्ताच्युत गरी देश छोड्न बाध्य पारेको आन्दोलनको अगुवाइ गरेका नाहिद इस्लाम सूचना प्रविधि तथा दूरसञ्चारमन्त्री र असिफ महमुद युवा तथा खेलकुदमन्त्री बनेका बंगलादेश समाचारहरुले जनाएका छन।

नाहिद आरक्षण सुधार आन्दोलनका मुख्य नेतामध्ये एक थिए । यो आन्दोलन पछि शेख हसिनाको सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । 

सन् १९९८ मा ढाकामा जन्मेका नहिद ढाका विश्वविद्यालयमा सन् २०१६ देखि समाजशास्त्र अध्ययनरत छात्र हुन् । आसिफ विभेदविरुद्ध विद्यार्थी आन्दोलनका अर्का समन्वयकर्ता थिए । उनी पनि ढाका विश्वविद्यालयमा सन् २०१७ देखि भाष विज्ञानका विद्यार्थी हुन् । 

बंगलादेशमा अन्तरिम सरकारको प्रधान सल्लाहकार पदमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले शपथ लिइसकेका छन् । उनी कार्यभार सम्हाल्न बिहीबार स्वदेश फर्केका थिए । विद्यार्थी आन्दोलन चर्किएपछि शेख हसिना  प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी छिन् ।

प्रतिक्रिया