राजर्षि जनक विश्वविद्यालयमा ‘गोप्य परीक्षा’ को विरोध, ६ विद्यार्थी संगठनद्वारा तालाबन्दीको समर्थन

परिवर्तन सन्देश

जनकपुरधाम: राजर्षि जनक विश्वविद्यालयमा कार्यरत ६ वटा प्रमुख विद्यार्थी संगठनहरूले विश्वविद्यालय प्रशासनमा बेथिति बढेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्। क्याम्पस प्रशासनले नियम मिचेर कर्मचारी भर्ना गर्न खोजेको आरोप लगाउँदै विद्यार्थी संगठनहरूले स्ववियुद्वारा गरिएको अनिश्चितकालीन तालाबन्दीप्रति ऐक्यबद्धता जनाएका हुन्।

बिहीबार (२०८२/०८/१९) जारी संयुक्त विज्ञप्तिमा, गत मंसिर १५ गते क्याम्पस प्रमुखले विधि र प्रक्रिया मिचेर आफ्ना निकटका व्यक्तिहरूलाई भर्ना गर्न ‘गोप्य परीक्षा’ सञ्चालन गरेको आरोप लगाइएको छ। विद्यार्थी नेताहरूले उक्त कार्यलाई ‘शैक्षिक त्रुटि मात्र नभई राजनीतिक अपराध’ को संज्ञा दिएका छन्।

विज्ञप्तिमा उपकुलपति र रजिष्ट्रारले घटनाप्रति मौनता साँधेको भन्दै आलोचना गरिएको छ। २४ घण्टे अल्टिमेटम दिँदा पनि प्रशासनले चित्तबुझ्दो जवाफ नदिएको भन्दै विद्यार्थी संगठनहरूले हाल स्ववियुले उपकुलपति, रजिष्ट्रार र क्याम्पस प्रमुखको कार्यालयमा लगाएको अनिश्चितकालीन तालाबन्दीलाई पूर्ण समर्थन गर्ने निर्णय गरेका छन्।

विद्यार्थी संगठनहरूले तत्काल क्याम्पस प्रमुखलाई बर्खास्त गर्नुपर्ने र विश्वविद्यालयमा सुशासन कायम हुनुपर्ने माग राखेका छन्। यदि प्रशासनले माग सम्बोधन गर्नुको साटो दमन गर्न खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् प्रशासनले लिनुपर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।

संयुक्त विज्ञप्तिमा अखिल (समाजवादी)का प्रयास कौशिक धिताल समाजवादी विद्यार्थी युनियनका राम भगत यादव, अखिल क्रान्तिकारीका मो. जमशेद आलम, लोकतान्त्रिक विद्यार्थी संघका जगमोहन गुप्ता, अनेरास्ववियुका आदर्श मण्डल, विद्यार्थी जनमत संघका शशिकान्त मण्डल हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया