शहीद आमा मंगली पुनको निधन, नेकपा (माओवादी) रोल्पाद्वारा समवेदना व्यक्त

परिवर्तन सन्देश
रोल्पा, साउन १ । रोल्पा जिल्ला परिवर्तन गाउँपालिका–६, ओह निवासी तथा जनयुद्धका तीन जना शहीदकी आमा मंगली पुन को ९५ वर्षको उमेरमा २०८३ असार ३२ गते निधन भएको छ। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) रोल्पा जिल्ला समितिका सेक्रेटरी प्रज्वल सी र इन्चार्ज असिना सी ले बिहीबार शोक वक्तव्य जारी गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। वक्तव्यमा उहाँको निधनले पार्टीलाई दुःखी एवं स्तब्ध बनाएको उल्लेख गर्दै शहीद परिवारले नेपाली जनमुक्ति आन्दोलनमा पुर्‍याएको ऐतिहासिक योगदानको उच्च सम्मान गर्ने उल्लेख गरिएको छ ।

माओवादी रोल्पा द्वारा जारी शोक वक्तव्यमा मंगली पुनले महान् जनयुद्धमा आफ्ना तीन सुपुत्र शहीद खर्कबहादुर पुन (लखन्टे), खर्कसिंह पुन (अख्तियार) र शहीद मनबहादुर पुन लाई राष्ट्र र जनताको मुक्तिका लागि समर्पित गर्दै त्याग र बलिदानको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको थियो। उहाँकी सुपुत्री भागरथी पुन (क. जुरेली) हाल नेकपा (माओवादी) रोल्पा जिल्ला समितिमा सक्रिय रहँदै आन्दोलनमा योगदान पुर्‍याइरहनुभएको छ भने कान्छा सुपुत्र अमर पुन ले पनि परिवारको संघर्षशील र क्रान्तिकारी परम्परालाई निरन्तरता दिँदै आउनुभएको जनाइएको छ।

पार्टीले मंगली पुनको जीवनलाई त्याग, धैर्य, साहस र समर्पणको प्रेरणादायी प्रतीकका रूपमा स्मरण गर्दै उहाँले भोग्नुभएका पीडा, संघर्ष र बलिदान नेपाली जनमुक्ति आन्दोलनको इतिहासमा सदैव सम्मानका साथ स्मरणीय रहने उल्लेख गरेको छ।

नेकपा (माओवादी) रोल्पाले स्वर्गीय मंगली पुनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै जुरेलीसहित शोकसन्तप्त परिवार, आफन्तजन तथा सम्पूर्ण शहीद परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, शहीद परिवारले पुर्‍याएको ऐतिहासिक योगदान र बलिदानलाई उच्च सम्मानका साथ सदैव स्मरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया