प्रधानमन्त्री तथा त्रिवि कुलपति प्रचण्डको प्रतिबद्धता विपरीत त्रि वि मा भागबन्डा सुरु

 त्रि वि का कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता विपरीत  त्रिभुवन विश्वविद्यालय  का कामचलाउ उपकुलपति प्राध्यापक शिवराज भुसालले विभिन्न निकायमा राजनीतिक भागबन्डामा नियुक्ति गरेका छन्।

भुसाल तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारीमा छन्। त्रिविमा अहिले शिक्षाध्यक्ष र रजिस्ट्रारर पनि निमित्त छन्। भार्गव धिताल निमित्त शिक्षाध्यक्ष र कृष्ण बस्याल निमित्त रजिस्ट्रार छन्।

दैनिक कार्य सञ्चालनको जिम्मेवारी पाएका निमित्त उपकुलपति भुसाल स्वयंले उपकुलपति दाबी गर्दै दरखास्त हालेका छन्। कामचलाउ उपकुलपतिले यही माघ २३ गते त्रिवि कार्यकारी परिषद्को बैठक बसाएर विभिन्न कलेज-विभागमा प्रमुख र मानविकी तथा सामाजिक शास्त्र संकायमा सहायक डिन नियुक्त गरेका हुन्।

जस अनुसार नेपाली कांग्रेसको कोटामा प्राध्यापक चेतराज भट्टलाई गणित केन्द्रीय विभाग प्रमुख, रामेश्वर आचार्यलाई पब्लिक युथ कलेजको प्रमुख कपिल काफ्लेलाई रामपुर कृषि क्याम्पस, खैरेनीको प्रमुख र चिरञ्जीवी आचार्यलाई मानविकी तथा सामाजिक शास्त्र संकायको सहायक डिनमा नियुक्त गरिएको छ।

यसैगरी माओवादी केन्द्रको कोटामा नवराज पाण्डेलाई गोरखा क्याम्पसको प्रमुख, मिलन सुवेदीलाई लमजुङ क्याम्पसको प्रमुख र श्यामबहादुर कार्कीलाई नेपाल ल क्याम्पसको प्रमुख नियुक्त गरिएको छ। त्यस्तै एमाले कोटामा गंगाराम पौडेललाई इलाम क्याम्पसको प्रमुख, कृष्ण न्यौपानेलाई नेपाली केन्द्रीय विभागको प्रमुख र दिनेश पाठकलाई भूगर्भ विज्ञान केन्द्रीय विभागको प्रमुखमा नियुक्त गरिएको छ। यसले त्रिविमा राजनीतिक भागबण्डा छताछुल्ल भएको प्राध्यापक ढकालले बताए।

माघ २ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्चशिक्षा शाखाले त्रिवि, मध्यपश्चिमाञ्चाल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चाल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलसमेतमा नियुक्ति, सरुवा, बढुवा, परीक्षा तथा सम्बन्धन विस्तार एवं कार्यक्रम थपलगायतका काम निर्धारित प्रक्रिया र मापदण्डविपरीत भएको उजुरी परेको भन्दै यस्ता कार्य तत्काल स्थगन गर्न सहकुलपति एवं मन्त्रीस्तरीय निर्णय भन्दै विश्वविद्यालयहरूलाई पत्राचार गरेको छ।

त्रिविमा हालै भएको नियुक्तिले सहकुलपति एवं शिक्षामन्त्रीस्तरीय निर्णयको धज्जी उडाएको छ। ‘कुलपति एवं प्रधानमन्त्रीले त्रिविमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको अवस्थामा पदपूर्ति नभएसम्मका लागि दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि प्राध्यापक शिवप्रसाद भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको हो,’ प्राध्यापक ढकालले भने, ‘आफैं उपकुलपतिको आवेदक भुसालले सबै पदाधिकारी निमित्त भएकै बेलामा विभिन्न विभाग र क्याम्पसमा प्रमुख नियुक्त गर्नुले नैतिकताको पनि प्रश्न उठेको छ। यो नियुक्तिले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने कुलपतिको भनाइ ‘गफ’ मात्र भएको देखायो।’

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार त्रिवि ऐनअनुसार उपकुलपति नहुँदा बढीमा तीन महिनासम्म एकपटक मात्र निमित्त उपकुलपतिको जिम्मेवारी दिन मिल्छ। तर कुलपतिले भुसाललाई दोहोर्‍याएर थप तीन महिना उक्त जिम्मेवारी दिएका छन्, जुन गलत हो।

निमित्त उपकुलपति भुसालले स्वयं उपकुलपतिको आवेदक रहेको अवस्थामा विभिन्न निकायमा नियुक्ति गर्नु पनि गलत भएको कोइरालाको ठहर छ। ‘निमित्त उपकुलपति, निमित्त रेक्टर र निमित्त रजिस्ट्रारले गरेका सबै नियुक्ति कानुनतः गलत हुनु,’ शिक्षाविद् कोइरालाले भने, ‘अर्को कुरा कुलपतिले भुसाललाई पुनः तीन महिनाका लागि निमित्त उपकुलपति तोक्न कानुनले मिल्दैन।’

प्रतिक्रिया