अखिल (समाजवादी) को खबरदारी पछि त्रिविका उपकुलपतिले सिफारिस गरेका व्यक्तिहरु नै रेक्टर र रजिस्टारमा नियुक्ति

नबिन के.सी

त्रिभुवन  विश्वविद्यालयको रेक्टर र रजिस्टारमा त्रिवि उपकुलपति प्रा.डा केशरजंग बरालले सिफारिस गरेका व्यक्तिहरुलाई नै कुलपतिले नियुक्ति गरेका छ्न।

त्रिवि ऐन अनुसार रेक्टर र रजिस्टार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री) ले नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजंग बरालले २०८० चैत ६ मा सात दिनको समयावधि दिएर रेक्टर र रजिष्ट्रार पदमा आवेदन माग गरेका थिए । सोही समयमा परेका आवेदनहरु मध्येबाट उनले चैत १४ गते रेक्टरमा प्रा.डा. खड्क केसी र रजिस्टारमा प्रा.डा. केदार रिजाल लाई सिफारिस गरेका थिए। तर सत्ता  साझेदार दल नेकपा (एमाले) ले रेक्टरमा प्रगतिशील प्राध्यापक संघका अध्यक्ष प्रा.डा. बेदराज केसीलाई अगाडि सारेपछि नियुक्ति प्रकृया रोकिएको थियो। उपकुलपति बरालले भने आफूलाई टिम बनाउन दिनुपर्ने अदान राख्दै आफुले भनेको नभए राजीनामा दिने समेत  चेतावनी दिएका  थिए।

रेक्टर र रजिस्टार नियुक्ति प्रक्रियामा राजनितिक हस्तक्षेप ,दवाब र अवरोध हुन लागेको थाहा पाएपछि अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी ले चैत २६ गते एक प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक भागबन्दा अन्त्य गरेर उपकुलपतिले स्वच्छ प्रतिस्पर्धाका आधारमा सिफारिस गरेका व्यक्तिहरु लाई नियुक्ति गर्नुपर्ने लगायतका माग राख्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए  जस अनुसार  २०८० चैत्र २६ गते सोमवार विहान ११ वजे देशभरिका त्रिविका आंगिक क्याम्पसमा विरोध प्रदर्शन गरेका थिए भने र २०८० चैत्र २७ गते मंगलवार विहान ११ वजे काठमाडौ स्थित त्रिवि उपकुलपति कार्यालय कीर्तिपुर अगाडी विरोध प्रदर्शन गरेका थिए । अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी ले त्रि वि कुलपति तथा प्रधानमन्त्री प्रचण्डले उपकुलपतिले छनोट गरेर पठाएको निर्णय लाई सदर गर्नु धेरै राम्रो भएको भन्दै विद्यार्थी संगठनले उठाएको सकारात्मक  आन्दोलनको  बिजय बताए।साथै नेता नरेन्द्रले भने समयमै नियुक्ति गरेर  राम्रो भयो नियुक्ति प्रक्रियामा थप ढिलासुस्ती भएको भए  प्रधानमन्त्री प्रचण्ड लाई भेटेर ज्ञापन पत्र बुझाउने र दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गर्ने  तयारीमा लागेका थियौं अब तत्काल लाई केही गर्न परेन बाकी नवनियुक्त हुनुभएका सरहरुको काम हेरौं ।

यस्तै अखिल (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय ब्यूरो इन्चार्ज अनिल सी ले केही दलाल चरित्रका राजनीतिक पार्टीहरुले आफ्ना निकटमा व्यक्ति लाई त्रि वि को रेक्टर र रजिस्ट्रारमा नियुक्ति गर्न विभिन्न ढंगले लागि परेको भएपनि आफुहरुको संघर्षका कारण अन्ततः उपकुलपतिले सिफारिस गरेका ब्यक्तिहरु नै नियुक्ति भएको बताए साथै यो नियुक्ति बाट त्रिभुवन विश्वविद्यालय सुधारमा गति आउछ भन्ने विश्वास जागेको बताए।त्रिभुवन विश्वविद्यालय सुधारको निम्ति सबै एक भएर लाग्नुपर्ने त्रि वि का  नेता अनिलले बताए ।  त्रि वि का उपकुलपतिले रजिस्ट्रार र रेक्टरमा सिफारिस गरेका व्यक्ति हरुलाईनै त्रि वि का कुलपति नेपाल सरकारका प्रधानमन्त्री प्रचण्डले नियुक्ति गरेपछि अखिल (समाजवादी)ले धन्यवाद समेत व्यक्त गरेको छ।

यस्तो छ नवनियुक्त रजिस्टार प्रा डा केदार रिजाल र रेक्टर प्रा डा खड्ग के सी को पृष्ठभुमि

नवनियुक्त रजिष्ट्रार रिजाल नेपाल खुला विश्वविद्यालय विज्ञान, स्वास्थ्य र प्रविधि संकायका डिन हुन् । त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक उनी एक वर्षअघि डिन नियुक्त भएका थिए । त्यसअघि पदपूर्ति समितिका सदस्य थिए । २०४९ सालमा त्रिचन्द्र क्याम्पसबाट उपप्राध्यापकका रुपमा उनले प्राध्यापन सुरु गरेका थिए । त्रिवि र अस्ट्रेलियाबाट स्नातककोत्तर रिजालले भारतको पुणे विश्वविद्यालयबाट वातावरण विज्ञानमा पीएचडी गरेका छन् । ६१ वर्षीय उनी धादिङ निवासी हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका संस्थापक प्रमुख केसी २०५३ सालदेखि पृथ्वीनारायण क्याम्पस पोखराबाट प्राध्यापन पेसामा सक्रिय थिए । त्रिविबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर उनले जापानको नागासाकी विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको बोर्ड पूर्वसदस्य रहेका उनी पर्वत निवासी हुन् । ५६ वर्षीय नवनियुक्त रजिष्ट्रार केसी सरकारले गठन गरेको गृह प्रशासन सुधार उच्चस्तरीय कार्यदलका सदस्यसमेत छन् । रिजाल कांग्रेस र केसी एमाले निकट मानिए पनि उनीहरु प्राध्यापक संगठनलगायत कुनै पनि भात्री संगठनमा भने आबद्ध छैनन् ।


प्रतिक्रिया