घोराही — कार्तिक २१
देशको राजनीतिक अस्थिरता, सत्ताको दुरुपयोग र राज्यसंस्थाको कमजोर कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै वाम नेताहरूले नयाँ सहकार्य र एकताको पहल गर्न सबै देशभक्त, समाजवादी र प्रगतिशील शक्तिहरूलाई आह्वान गरेका छन्।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले मुलुक “राजनीतिक, वैचारिक र नैतिक संकटको भुमरीमा फँसेको” बताएका छन्।
विज्ञप्तिमा भनिएको छ,
“सत्तासीन नेताहरू र जिम्मेवार शक्ति केन्द्रहरू राजनीतिक स्वार्थका खेलमा रमाउँदा राज्य, राजनीति र जनताको हित गम्भीर संकटमा परेको छ। देशलाई निकास दिन नयाँ सहकार्य र वैचारिक स्पष्टता आवश्यक छ।”
ती नेताहरूले २०६५ जेठ २१ गतेको ऐतिहासिक उपलब्धिहरू— गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा आधारित लोकतान्त्रिक व्यवस्थालाई पुनः अस्थिर पार्ने प्रयास भइरहेको आरोप समेत लगाएका छन्।
‘लोकतान्त्रिक मूल्यहरू क्षीण हुँदै गए’
विज्ञप्तिमा भनिएको छ, पछिल्ला वर्षमा जनताको सहभागिता कमजोर हुँदै गएको र राज्यको निर्णय–प्रक्रियामा दलहरू आन्तरिक शक्ति संघर्षमा व्यस्त हुँदा लोकतान्त्रिक अभ्यास निष्प्रभावी बनेको छ।
नेताहरूले जनताको अधिकार र लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणका लागि साझा पहल आवश्यक रहेको बताएका छन्।
“राष्ट्रको अस्तित्व, जनताको अधिकार र लोकतान्त्रिक प्रणालीमाथि संकट गहिरिँदै गएको छ,” विज्ञप्तिमा भनिएको छ, “सत्ताको स्वार्थ र वर्चस्वका कारण जनताप्रतिको जवाफदेहिताको संस्कार हराउँदै गएको छ।”
‘वाम एकता मात्र होइन, सहकार्य पनि जरुरी’
विप्लव, भुसाल र शर्माले वाम एकतालाई केवल पार्टीगत पुनर्संरचनाको रूपमा होइन, राष्ट्रिय पुनर्जागरणको परियोजनाको रूपमा लिनुपर्ने बताएका छन्।
उनहरूको भनाइमा, अहिलेको समयले वाम, समाजवादी र प्रगतिशील शक्तिबीच सहकार्यको नयाँ अध्याय लेख्न आह्वान गरिरहेको छ।
“हामी विगतका विभाजन र अविश्वासका गल्ती दोहोर्याउन चाहँदैनौं। आजको राष्ट्रिय निराशा र राजनीतिक दिशाहीनतालाई सम्बोधन गर्न साझा दृष्टिकोण र सहकार्य नै विकल्प हो,” विज्ञप्तिमा उल्लेख छ।
ती नेताहरूले नेपालको राजनीतिक यात्रामा देखिएका अविश्वास, गुटबन्दी र सत्ताकेन्द्रित मानसिकताले आन्दोलनका मूल्य र आदर्शहरू कमजोर बनाएको बताएका छन्।
‘जनजीविकाको संकट र वैचारिक विचलन’
विज्ञप्तिमा आर्थिक असमानता, बेरोजगारी, मोलवृद्धि र भ्रष्टाचारका कारण जनजीविकामा परेको असरप्रति चिन्ता व्यक्त गरिएको छ।
“राज्यको प्राथमिकता जनताको जीवनस्तर सुधार होइन, सत्ता जोगाउने खेल बनेको छ,” नेताहरूले बताएका छन्, “जनताको मुद्दा राजनीतिक घोषणापत्रमा मात्रै सीमित हुन पुगेको छ।”
ती नेताहरूले वैचारिक विचलनले वाम आन्दोलनलाई कमजोर बनाएको स्वीकार गर्दै नयाँ पुस्तासँग संवाद र संगठनात्मक पुनःसंरचनाको आवश्यकता रहेको पनि बताएका छन्।
‘देशभक्त, समाजवादी र प्रगतिशील शक्तिलाई एक मञ्चमा ल्याउने प्रयास’
विप्लव, भुसाल र शर्माले सबै देशभक्त, समाजवादी र प्रगतिशील शक्तिहरूबीच साझा एजेन्डा तय गरी राष्ट्रिय पुनर्निर्माणको अभियान चलाउन आग्रह गरेका छन्।
“हामी ऐतिहासिक जिम्मेवारीको मोडमा छौं,” विज्ञप्तिमा भनिएको छ, “सहकार्य र संवादमार्फत नयाँ सम्भावनाको बाटो खोलौं।”
नेपालको वाम राजनीति पछिल्ला दशकहरूमा पटक–पटक विभाजन र पुनर्मिलनको चक्रमा परेको छ। २०७५ सालमा भएको तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको एकताले ठूलो अपेक्षा जगाएको भए पनि त्यो लामो समय टिक्न सकेन। त्यसपछि वामपन्थी धारहरू पुनः विखण्डित हुँदै गए।
त्यसबीच, जनजीविकाका मुद्दा, सुशासन र भ्रष्टाचारविरुद्धको जनआवाज बलियो बन्दै गएको छ। यही पृष्ठभूमिमा आएको यो संयुक्त वक्तव्यलाई वाम राजनीतिभित्रको नयाँ ‘संकेत’का रूपमा हेरिएको छ।
ती नेताहरूले अन्त्यमा सबै प्रतिवद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील र देशभक्त शक्तिलाई संवाद र सहकार्यका लागि खुला मनले अघि बढ्न आह्वान गरेका छन्।
“हामी भिन्न पार्टीमा भए पनि हाम्रो लक्ष्य एउटै छ — समृद्ध र स्वाभिमानी नेपाल,” विज्ञप्तिमा भनिएको छ।